काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन्। शुक्रबार राजधानीमा आयोजित मदन जयन्तीको कार्यक्रममा भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी हुन्।
कार्यक्रममा बोल्दै उनले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिइन्। भण्डारीले भनिन्, “अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु। पार्टीको आदर्श, नीति र दृष्टिकोणप्रति अझै समर्पित छु।”
पूर्वराष्ट्रपति भएकी भण्डारी २०७२ सालमा राष्ट्रपति निर्वाचित हुनु अघि एमालेकै उपाध्यक्ष थिइन्। राष्ट्रपति कार्यकालका कारण उनी पार्टी राजनीतिबाट निष्क्रियजस्तै बनेकी थिइन्। अब पुनः सक्रिय भूमिकामा फर्किन लागेको संकेतले एमालेभित्र उत्साह बढाएको छ।
मदन भण्डारीकी जीवनसाथीसमेत रहेकी विद्यादेवी भण्डारीले कार्यक्रममा मदन भण्डारीको विचार र योगदानलाई स्मरण गर्दै पार्टीको सिद्धान्त र मार्गदर्शनप्रति अझै दृढ रहने बताइन्।
एमाले नेताहरुले भण्डारीको पुनः सक्रियता पार्टीको लागि “नयाँ उर्जा” र “संघर्षशील नेतृत्वको पुनर्स्थापना” भएको बताएका छन्।