काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियामाथि एकतर्फी प्रदर्शन गर्दै ३७० रनको फराकिलो जित हासिल गरेको छ।
क्वालालम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि ओपनर प्रसिद्ध जैशीले उत्कृष्ट प्रदर्शन गर्दै १३२ रनको शतकीय पारी खेले।
जैशीले ११४ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै रन जोडेका हुन्। त्यस्तै, परिमार्जन यादवले २८ बलमा ७१, रौनक श्रीवास्तवले ७१ बलमा ८८, जोय थापाले ४१ बलमा ५१ रन बनाएका थिए। सुगम बुढाथोकीले पनि ३९ रनको योगदान दिए।
इन्डोनेसियाका लागि केटुक डर्माले २ विकेट लिए भने रिहान रिजा, महेन्द्र अजि र केभिन निरजले समान १–१ विकेट लिए। नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा इन्डोनेसिया २४.३ ओभरमा मात्र ५० रनमा समेटिएको थियो। इन्डोनेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि कप्तान विपिन शर्माले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएका थिए। शुभमन खनाल र सुगम बुढाथोकीले समान १–१ विकेट हात पारे। नेपालको यो लगातार तेस्रो जित हो। यसअघि नेपालले सिंगापुरलाई ५ विकेट र जापानलाई ९ विकेटले हराएको थियो।
नेपाल अब समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।