काठमाडौं । नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार क्वालालाम्पुरमा आयोजक मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले उपाधि नजिकको यात्रा तय गरेको हो।
पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा ९० रनमा समेटिएको थियो। नेपालले मात्र ११.४ ओभरमै लक्ष्य भेट्टाउँदै सहज जित हासिल गर्यो।
नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विस्फोटक इनिङ खेलेर टिमलाई सहज जितसम्म पुर्याए। शिवान्स बजगाईं २३ रनमा अविजित रहँदा नेपालले एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
नेपालका लागि बलिङमा अभय यादवले चम्किलो प्रदर्शन गर्दै ४ विकेट लिए। शुभम् खनालले ३ विकेट लिए भने कप्तान विपिन शर्मा र सचिव भट्टले समान १–१ विकेट झारे।
मलेसियाका लागि मुहम्मद फातुल मुइनले ३८ रन बनाए, तर अन्य ब्याटर दोहोरो अंक पार गर्न सकेनन्। नेपाल अब फाइनलमा हङकङ र सिङ्गापुरबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार उपाधिका लागि भिड्नेछ।
नेपाल यू–१६ टोलीको लगातार प्रदर्शनले भविष्यमै राष्ट्रिय टोलीमा स्थान पाउने सम्भावनालाई बलियो बनाएको छ।