वासिङ्टन । अमेरिकी संसद् अर्थात् कङ्ग्रेसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको कर तथा खर्चसम्बन्धी विस्तृत विधेयकलाई पारित गरेको छ। प्रतिनिधिसभामा लामो रस्साकस्सीपछि विधेयक दुई सय १८ मतले पारित भएको बीबीसीले जनाएको छ। विधेयकविरुद्ध दुई सय १४ मत खसेका थिए।
यो विधेयक ट्रम्पको दोस्रो कार्यकालको एक मुख्य एजेन्डाका रूपमा हेरिएको थियो। यसअघि मङ्गलबार सिनेटले पनि एक मतको झिनो अन्तरले विधेयक पारित गरेको थियो।
विधेयकमा खाद्य सहायता, स्वास्थ्य उपचार र स्वच्छ ऊर्जा परियोजनामा दिइने अनुदान कटौती गरेर खर्च कम गर्ने व्यवस्था गरिएको छ। ट्रम्प प्रशासनले यसलाई खर्च बचत गर्ने कदमका रूपमा प्रस्तुत गरेको छ।
यद्यपि तल्लो सदनमा विपक्षी डेमोक्र्याटिक पार्टीका प्रमुख नेता हकिम जेफ्रिजले विधेयकविरुद्ध इतिहासकै लामो भाषण गर्दै आपत्ति जनाए। उनले लगातार ८ घण्टा ४५ मिनेट बोलेर विधेयक पारित प्रक्रियामा ढिलाइ गराएका थिए। जेफ्रिजले यो विधेयकले अमेरिकी समाजका कमजोर वर्गहरू, विशेषगरी गरिब नागरिकहरूलाई गम्भीर असर पार्ने बताएका छन्।
अब यो विधेयक अन्तिम अनुमोदनका लागि राष्ट्रपति ट्रम्पसमक्ष पुग्नेछ। विश्लेषकहरूले विधेयक पारित हुनु ट्रम्पका लागि राजनीतिक रूपमा महत्वपूर्ण सफलता भएको बताएका छन्।