काठमाडौं । विज्ञापन बोर्डले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण आचारसंहिता २०७९ को पूर्ण पालना गर्न सम्बद्ध पक्षहरूलाई आग्रह गर्दै उल्लंघन भए कारबाही गर्ने चेतावनी दिएको छ।
बोर्डले पछिल्लो समय विज्ञापन व्यवसाय अपारदर्शी र गैरकानुनी रूपमा गरिएको गुनासो बढ्दै गएको उल्लेख गर्दै आचारसंहिताको उल्लंघन भएमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा २५ र आचारसंहिता २०७९ को दफा ३० बमोजिम कारबाही हुने स्पष्ट पारेको हो।
बोर्डद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ,“विज्ञापन छापेको पृष्ठ वा अंक बजारमा नपठाउने, गायब गर्ने, निश्चित स्थानमा मात्र पठाई अन्यत्र जानबाट रोक लगाउने, वा मिति परिवर्तन गरी सूचना प्रकाशित गर्ने कार्य गैरकानुनी हो। यस्तो पाइएमा कडा कारबाही गरिनेछ।”
बोर्डका अनुसार, केही पत्रपत्रिकाले विज्ञापन प्रकाशित नगरीकनै मिलेमतोमा भुक्तानी लिने, वा विज्ञापन छापिएको पेज केवल विज्ञापनदातालाई मात्र पठाएर बजारमा अर्कै संस्करण पठाउने जस्ता कार्य भइरहेको पाइएको छ।
यस्तै, विज्ञापनदाताबाट बढी रकम उठाएर सञ्चारमाध्यमलाई न्यून भुक्तानी दिइ गैरकानुनी लाभ लिने, केही विज्ञापन एजेन्सी र सञ्चारमाध्यम संलग्न रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मुद्दा दर्ता गरिसकेको जनाइएको छ।
बोर्डमा यस्ता गतिविधिबारे निरन्तर गुनासो आउने गरेकाले विज्ञापन नियमनलाई अझ कडाइका साथ कार्यान्वयनमा ल्याइने स्पष्ट सन्देश बोर्डले दिएको छ। विज्ञापन बोर्डले सबै सञ्चारमाध्यम, विज्ञापन एजेन्सी, विज्ञापनदाता र सरोकारवाला पक्षलाई आचारसंहिता र प्रचलित कानुनको पूर्ण पालना गर्न अनुरोध गरेको छ।