काठमाडौं । नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले एएफसी महिला एसियन कप छनोटको फाइनल खेलमा उज्वेकिस्तानसँगको हार दुर्भाग्यपूर्ण भएको बताएकी छन्।
एएफसी छनोट प्रतियोगिता सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले नेपाली टिमले बलियो प्रतिस्पर्धी उज्वेकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको बताइन्।
उनले भनिन्, “हामी ३–१ ले पछि परेका थियौं। त्यसपछि हामीले कमब्याक ग¥यौं र खेल ३–३ को स्थितिमा ल्यायौं। तर दुर्भाग्यवश, पेनाल्टी सुटआउटमा हार बेहोर्यौं। समग्रमा हेर्दा हाम्रो प्रदर्शन सकारात्मक रह्यो।”
कप्तान सावित्राले टिमको समग्र प्रदर्शनबाट नेपाली महिला फुटबलको भविष्य उज्ज्वल देखिएको पनि बताइन्। साथै, उनले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले टिमलाई सकारात्मक रूपमा प्रशिक्षण दिएको उल्लेख गर्दै आगामी दिनमा पनि उनलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।
नेपाली टिम एएफसी महिला एसियन कप छनोटको फाइनल खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो। निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा टुंगिएको थियो।
छनोट प्रतियोगितामा नेपालले समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो। तर फाइनलमा उज्वेकिस्तानसँग पराजित भएपछि नेपाली टिमले आगामी वर्ष हुने एसियन कपमा खेल्ने अवसर गुमाएको हो।
यस पटक प्रशिक्षक प्याट्रिक डे वाइल्डले सावित्रा भण्डारीलाई कप्तानीको जिम्मेवारी दिएका थिए भने पूर्वकप्तान तथा पहिलो रोजाइकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बा भने टिममा छैनन्। तीनै खेलमा अन्जना राना मगरले नेपालको गोलपोस्ट सम्हालेकी थिइन्।