काठमाडौं । तिब्बतबाट आएको बाढीले रसुवामा रहेको जलविद्युत् आयोजना र भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार रसुवागढी जलविद्युत् आयोजना, चिलिमे, त्रिशूली ३ ‘ए’ र त्रिशूली ३ ‘बी’ मा क्षति पुगेको छ। १११ मेगावाटको रसुवागढी आयोजनाको हेडवर्क्समा क्षति पुगेको र चिलिमे आयोजनाको टेलरेसमा पानी पसेको उनले बताए। त्रिशूली ३ ‘ए’ को तीनवटा हेडवर्क्स बगाएको छ भने त्रिशूली ३ ‘बी’ को सबस्टेसनमा पनि बाढी पसेपछि सञ्चालन रोकिएको छ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। भन्सार यार्डमा रहेका गाडीहरू पनि बगाएको जनाइएको छ। बाढीपछि हालसम्म १६ जना सम्पर्कविहीन रहेका छन्।
प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी छ। पानीको सतह अझै नघटेकाले जोखिम कायमै रहेको र स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।