काठमाडौं । सन् २०२६ मा हुने आईसीसी टी–२० विश्वकपका लागि इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटको तालिका सार्वजनिक गरिएको छ। विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो।
कुल ९ राष्ट्र सहभागी रहने प्रतियोगिता आगामी अक्टोबर ८ देखि ओमानमा सुरु हुनेछ। छनोट चरणमा नेपालसहित पपुवा न्युगिनी (पीएनजी), ओमान, कुवेत, मलेसिया, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान र समाओ प्रतिस्पर्धी राष्ट्र हुनेछन्।
आईसीसीले सहभागी टोलीहरूलाई तीन समूहमा विभाजन गरेको छ। नेपाल समूह–२ मा परेको छ, जहाँ नेपालसँगै कुवेत र जापान रहेका छन्।
समूह–१ मा यूएई, मलेसिया र कतार रहेका छन् भने समूह–३ मा ओमान, पीएनजी र समाओ छन्।
नेपालले प्रतियोगिताको पहिलो खेल अक्टोबर ८ मा कुवेतसँग खेल्नेछ। त्यसपछि अक्टोबर १० मा नेपालले जापानविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ।
प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन्। सुपर–६ बाट उत्कृष्ट तीन टोलीले सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्।