काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीति नगर्न चेतावनी दिएका छन्। बिहीबार ‘नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स ल्याब’ को उद्घाटन समारोहमा बोल्दै उनले खेल क्षेत्रको विकास प्राथमिकता हुनुपर्नेमा जोड दिए।
ओलीले वर्तमान खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै खेलकुदमा राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पारे। “खेलमा राजनीति गर्ने होइन, खेललाई अगाडि लैजानुपर्छ। पोलिटिक्सको लागि त्यहाँ स्पेस छैन,” उनले भने।
प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को काम रोक्ने प्रयासप्रति आपत्ति जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) बीचको विवाद अन्त्य गर्न आग्रह गरे। उनले क्यानलाई भव्य रूपमा एनपीएल आयोजना गर्न निर्देशन दिँदै यसलाई “नेशनल प्राइड” को रूपमा विकास गर्नुपर्ने बताए।
“एनपीएलको तयारी तीव्र बनाउनुस्। देशमा जसरी क्रिकेटको क्रेज बढेको छ, त्यसरी नै एनपीएललाई राष्ट्रिय रूपमा अगाडि लैजानुपर्छ,” ओलीले भने।
उनले कीर्तिपुर रंगशालाको विस्तारबारे पनि बोले। “सुरुमा सानो भए पनि यो पहिलो चरणको निर्माण हो। दोस्रो चरणमा ठूलो विस्तार हुन्छ। राति पनि खेल खेल्न मिल्ने अन्तर्राष्ट्रिय स्तरको रंगशालामा रूपान्तरण हुनेछ,” उनले जानकारी दिए।
ओलीले कर्णाली प्रदेशमा आयोजना हुने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटक–पटक सारिएकोमा असन्तुष्टि जनाउँदै अब निर्धारित मिति (मंसिर) मा नै खेलकुद प्रतियोगिता सम्पन्न गर्न निर्देशन पनि दिए।
उनको भनाइमा, खेलकुदले देशको पहिचान बढाउने भएकाले त्यसलाई राजनीतिक हस्तक्षेपबाट जोगाउनु अत्यन्त जरूरी छ।