काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट नगर सभाको १७औं अधिवेशनको पहिलो बैठकमार्फत आइतबार सार्वजनिक गरेकी छन्।
उनले संचित कोषबाट व्ययभार पर्ने २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ र अन्य बाह्य स्रोतबाट व्ययभार पर्ने ६५ करोड रुपैयाँको प्रावधानसहित बजेट प्रस्तुत गरेकी हुन्।
बजेट प्रस्तुति गर्दै उपप्रमुख डंगोलले समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न नसकेकोप्रति क्षमा याचना गरिन्। उनले भनिन्, “समयमै नीति तथा कार्यक्रम र बजेट पेश गर्न नसकेकोमा महानगरवासी र सरोकारवाला निकायहरूसँग क्षमायाचना गर्दछौं।”
उनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक दायित्व भए पनि केही आन्तरिक कारणले ढिलाइ भएको स्वीकार गरिन्। “विगतका दिनहरूमा अविश्वास, तितामिठा अनुभव र आरोप–प्रत्यारोप भए पनि अहिले हामी समस्याको समाधान गर्दै एकढिक्का भएर फेरि गरिमामय सभामा उपस्थित भएका छौं,” उनले भनिन्।
उक्त बैठकअघि मेयर बालेन्द्र शाहले आगामी वर्षको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए। अब प्रस्तुत बजेटमाथि छलफल गरी पारित गरिनेछ।
काठमाडौं महानगरपालिकाले आगामी वर्षको बजेटमार्फत पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरण, सूचना प्रविधि, स्मार्ट सिटी निर्माण, सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई प्राथमिकता दिने जनाएको छ।