काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। हालै सार्वजनिक भएको ७८ लाख रुपैयाँ घुस लेनदेनसम्बन्धी अडिओ काण्डमा नाम जोडिएपछि उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्।
गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको जानकारी दिँदै आफूमाथि लागेको आरोपको निष्पक्ष अनुसन्धान होस् भन्ने उद्देश्यले पद त्यागेको बताएका छन्।
उनले लेखेका छन्, “विगत केही दिनदेखि मेरो नाम घुस डिलसँग जोडेर प्रचार भइरहेको छ। कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको सिकार भएँ। अब सत्य तथ्य बाहिर आउन सकोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष मन्त्री पदबाट राजीनामा दिएको छु।”
गुप्ताले आफू प्रविधिको प्रयोग गरेर फसाइएको दाबीसमेत गरेका छन्। उनले लेखेका छन्, “प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही नबुन् भन्ने अपेक्षा राखेको छु।”
राजीनामा दिएपछि गुप्ताले पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउँदै जनताको घर–दैलोमा फर्किने बताएका छन्।
गुप्त लुम्बिनी प्रदेशको रुपन्देही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। राजीनामा स्वीकृत भएपछि मन्त्रालयको नेतृत्वबारे निर्णय प्रधानमन्त्रीको पहलमा हुनेछ।