काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से ३४.४६ अंकले बढेर २ हजार ७६०.१७ विन्दुमा पुगेको छ।
बजारको समग्र अवस्थालाई झल्काउने सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले बढेर ४८१.४० विन्दुमा पुगेको छ।
आज ३१७ कम्पनीका २ करोड ६५ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
१३ वटै उपसमूहको सूचक हरियो
नेप्सेमा सूचीकृत १३ वटै उपसमूह हरियालीमा देखिएका छन्। सबैभन्दा बढी बैंकिङ समूह १.९२ प्रतिशतले बढ्यो। फाइनान्स समूह १.८२ प्रतिशत, हाइड्रोपावर १.६७ प्रतिशत, विकास बैंक १.५६ प्रतिशत, लघुवित्त १.५५ प्रतिशतले उकालो लागे। होटल तथा पर्यटन, बीमा, उत्पादन, लगानी, म्युचुअल फन्ड लगायतका अन्य समूह पनि हरियालीमै रहे।
धेरै कारोबार भएका कम्पनीहरू
आज बुटवल पावर कम्पनीको सर्वाधिक ५२ करोड ३२ लाख रुपैयाँको कारोबार भयो। राधी विद्युत कम्पनीको ४३ करोड ९७ लाख, एनआईसी एशिया बैंकको ३० करोड ३१ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ३० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कमाउने र गुमाउने कम्पनीहरू
आज सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ८.०८ प्रतिशतले वृद्धि भई सर्वाधिक कमाउने कम्पनी बन्यो। राप्ती हाइड्रो ५.८६ प्रतिशत, विन्ध्यावासिनी हाइड्रो ५.७१ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्स ५.४३ प्रतिशतले बढे।
यता, भगवती हाइड्रोपावरको शेयर मूल्य ४.६४ प्रतिशतले घट्दै सर्वाधिक गुमाउने कम्पनी रह्यो। शुभम पावरको मूल्य ३.३३ प्रतिशत र चिरख्वा हाइड्रोको ३.२६ प्रतिशतले घट्यो।
बजार विश्लेषकहरूका अनुसार मौद्रिक नीतिको सकारात्मक प्रभाव, ब्याजदरमा सम्भावित स्थिरता, तथा लगानीकर्ताको मनोबलमा आएको सुधारले बजार उकालो लागेको हो।