काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद अल-अदाहको अवसरमा जेलमा रहेका १२० जना नेपालीलाई आममाफी दिएको छ।
युएईस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख अनुसार, आममाफीको निर्णयअनुसार ती नेपालीको बाँकी सजाय अवधि मिनाहा गरिएको हो। आममाफी पाएका नेपालीहरू चाँडै स्वदेश फर्किने तयारीमा रहेका छन्।
राजदूतावासले युएई सरकारप्रति धन्यवाद व्यक्त गर्दै मानवताको नाताले गरिएको यो निर्णयले नेपाली समुदायलाई राहत र खुशी प्रदान गरेको जनाएको छ।
युएईमा रोजगारीका क्रममा विभिन्न कारणले जेल सजाय भोगिरहेका नेपालीहरूका लागि यो आममाफी ठूलो राहतको रूपमा आएको बताइएको छ।