काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उत्साह छाएको छ। नेप्से परिसूचक बिहीबार ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेको छ। यो लगातार तेस्रो दिन वृद्धि हो।
आज सेन्सेटिभ इन्डेक्स ११.२२ अंक, फ्लोट इन्डेक्स ५.०६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.७९ अंकले बढेका छन्। कारोबार रकम ११ महिनाको उच्चतम स्तरमा पुगेको छ। बुधबार ३११ कम्पनीका १ लाख ४१ हजार ४३४ पटक कारोबार हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ बराबरको ३ करोड ८६ लाख कित्ता शेयर किनबेच भएको छ। गत वर्ष भदौ ११ मा कारोबार रकम १८ अर्ब ५० करोडभन्दा बढी थियो।
बिहीबार ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रोपावरका शेयरहरू सकारात्मक सर्किटमा कारोबार भए भने इष्टर्न हाइड्रोपावरका शेयर १० प्रतिशत र बाराही हाइड्रोपावर पब्लिकका ९ प्रतिशतले वृद्धि भएका छन्। तर, एनआईबिएल स्टेबल फन्डका इकाई मूल्य ७.५८ प्रतिशतले घटेको छ।
कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहँदै ८४ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीले ६० करोडभन्दा बढी र राधी विद्युत कम्पनीले ५६ करोड बराबरको कारोबार गरेको छ।
आज बजारका १३ वटै उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूह ५.०९ प्रतिशतले बढे भने जलविद्युत, लगानी र जीवन बीमाको परिसूचक तीन प्रतिशतभन्दा बढीले बढेको छ। वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढीले बढेको छ।
यस विकासले आगामी दिनमा सेयर बजारमा थप सकारात्मक संकेत आउने अपेक्षा गरिएको छ।