काठमाडौं । गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट र प्रहरीको भ्यानमा आगजनी गर्ने नौजनालाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले मोबाइल पसल लुटपाट र आगजनीमा संलग्नमध्ये नौजनालाई पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार ५ जना प्रहरीको गाडी जलाउने काममा संलग्न छन् भने चार जना मोबाइल पसल लुटमा संलग्न रहेका छन्।
मोबाइल पसल लुटपाट आरोपमा पक्राउ पर्नेमा दैलेखको भगवती गाउँपालिका–३ घर भई हाल काठमाडौँको तारकेश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, सामाखुशीका ३५ वर्षीय नवीन खड्गी, रुपन्देहीको खैरेनी नगरपालिका–५ घर भइ अहिले काठमाडौँ– २६ मा बस्ने वर्ष २२ का सुजन खत्री, झापाको शिवसताक्षी नगरपालिका–४ घर भई हाल स्वयम्भू बस्ने प्रदीप बस्नेत छन्। उक्त घटनामा संलग्नहरूको विभिन्न भिडिओको आधारमा खोजी गर्दा मंगलबार बालाजु माछापोखरीबाट पाँचजना समातिएका हुन्।
पक्राउ पर्नेमा उदयपुरको बलम्ता गाउँपालिका २ घर भई तार्केश्वर नगरपालिका १०, मनमैजु बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ घर भई टोखा नगरपालिका ३ बानियाटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङको बेँसीसहर नगरपालिका ५ घर भई तार्केश्वर नगरपालिका १० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ रहेका छन्।
त्यसैगरी काभ्रेपलान्चोकको मानेडाँडा घर भई हाल ठमेल बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठानको कडी गाउँपालिका १ घर भई गोंगबु बस्ने १८ वर्षीय दिपेन्द्र पुन मगर, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका २ घर भई काठमाडौं महानगरपालिका १६ गंगाहल बस्ने २० वर्षीय आशीष खड्का रहेका छन्।
उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट दिन ३ म्याद थपिएको प्रहरीले जनाएको छ।