काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ स्थित भुलभुलेमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना मनाङ होटलका सञ्चालकसमेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार मंगलबार साँझ भुलभुलेस्थित मनाङ होटलमा तास खेलिरहेको सूचना पाएपछि प्रहरी टोलीले छापा मारी सात जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये होटल सञ्चालक ४८ वर्षीय सन्तबीर तामाङ पनि छन्।
प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ७ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। जुवातासजस्तो सामाजिक विकृतिविरुद्ध निरन्तर निगरानी गरिने प्रहरीको भनाइ छ।