काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली चितवन राइनोज ले आगामी सिजन २ का लागि आफ्नो लोगोमा महत्वपूर्ण परिवर्तन गर्दै गैंडालाई मुख्य प्रतीकको रूपमा प्रस्तुत गरेको छ।
मंगलबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा टोलीले अघिल्लो सिजनको तुलनामा ‘चितवन’ शब्दको सट्टा ‘राइनोज’ अर्थात् गैंडा लाई लोगोको अग्रभागमा राखिएको जनाएको छ। टोलीले यो परिवर्तनलाई केवल डिजाइनको विषय नभई, समर्पण, गर्व र फ्यानहरूप्रतिको भावनात्मक सम्बन्धको झल्को भएको स्पष्ट पारेको छ।
टोलीले उल्लेख गरेअनुसार अघिल्लो सिजनमा परिचालित मस्कट ‘मिस्टर गैंडा’ ले फ्यानहरूबीच निकै लोकप्रियता कमाएको थियो। यही लोकप्रियता र भावनालाई सम्मान दिँदै नयाँ लोगोमार्फत टोलीले फ्यानहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रयास गरेको जनाएको छ।
टोलीका अध्यक्ष आयुष न्यौपाने ले नयाँ लोगो फ्यानहरूको मनोविज्ञानअनुसार तयार गरिएको बताए।
उनले भने, “नयाँ लोगो फ्यानहरूको रोजाइ र राइनोजको मर्मलाई अझ स्पष्ट ढंगले देखाउने प्रयत्न हो। मिस्टर गैंडाको लोकप्रियता हाम्रो लागि संकेत थियो। अब फ्यानहरू र गैंडाको पहिचान सँगसँगै लोगोको अगाडि रहनेछन्। भावना उही हो, तर यसको प्रस्तुति अझ स्पष्ट भएको छ।”
टोलीले नयाँ लोगोमार्फत सिजन २ मा अझ बलियो उपस्थितिको तयारी गरिरहेको जनाएको छ। लोगोमा देखिएको गैंडा केवल चितवनको मात्र नभई सिंगो देशकै गर्वको प्रतीक भएको उल्लेख गर्दै टोलीले यही भावनालाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। चितवन राइनोजको यो नयाँ लोगो परिवर्तनलाई ब्रान्ड सुदृढीकरण र फ्यान सम्बन्ध विस्तारको रणनीतिक कदमका रूपमा हेरिएको छ।