लमजुङ । ‘हामीले सहरमै पुगेर मात्रै पाउने सेवा गाउँमै पायौँ,’ चिती तिलाहारकी एक वृद्धाले शिविरको सेवा लिएपछि उत्साहित हुँदै भनिन्। लमजुङको बेसीशहर नगरपालिका–११, चिती तिलाहारमा साउन ६ र ७ गते आयोजित निःशुल्क स्वास्थ्य शिविरले गाउँलेहरू खुसी भएका छन् ।
८०५ जनाले सेवा लिएको शिविरमा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष परामर्श, आधुनिक परीक्षण र निःशुल्क औषधि वितरण हुँदा स्थानीयवासीले यस्तो सेवा पहिलो पटक अनुभव गरेका हुन्।
चितीका स्थानीय सुदिप वि.क का अनुसार शिविरमा मुटु, मधुमेह, रक्तचाप, स्त्रीरोग, क्यान्सर पहिचानदेखि इको, ईसीजी, भिडियो एक्स–रे जस्ता आधुनिक सेवा उपलब्ध गराइएका थिए । स्थानीयले न त लामो यात्रा गर्नु प¥यो, न त खर्च गर्न।
स्वास्थ्य सेवा लिन लामो लाइनमा बसेका वृद्धदेखि महिलासम्मको अनुहारमा सन्तुष्टि देखिन्थ्यो। धेरैजसोले यसअघि यस्तो स्तरको सेवा कहिल्यै नपाएको अनुभव सुनाए।
‘काठमाडौं धाउनु पर्ने सेवा यहीँ पाइयो, यस्तो व्यवस्था बारम्बार होस् भन्ने चाहना छ,’ चितीका अर्का स्थानीयले भने। गाउँमै विशेषज्ञ सेवा पुग्दा समुदायमा स्वास्थ्यप्रति चेतना बढ्नुका साथै आत्मविश्वास पनि बढेको स्थानीयहरू बताउँछन्।
काठमाडौंस्थित ग्रीन सिटी अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले शिविरमा मुटु, मधुमेह, रक्तचाप, स्त्रीरोग, जनरल मेडिसिन लगायतका विषयमा परीक्षण तथा परामर्श सेवा दिएको थियो। डा. शोभा कार्कीको नेतृत्वमा सम्पन्न शिविरमा इकोकार्डियोग्राफी, ईसीजी, भिडियो एक्स–रे, पाठेघरको मुखको क्यान्सर पहिचान, र पाठेघरमा रिङ पेशरी राख्ने सेवासमेत निःशुल्क प्रदान गरिएको थियो।सहभागीलाई आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो।
शिविर मुटु फाउन्डेसन नेपाल, ग्रीन सिटी अस्पताल, मनोज एसोसिएसन फ्रान्स र नमस्ते ग्रेनोबल फ्रान्सको संयुक्त पहलमा आयोजना गरिएको हो।
शिविरमा सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमध्ये कार्डियोलोजिस्ट डा. शोभा कार्की, स्त्रीरोग विशेषज्ञ डा. शोभा महार्जन, सोनोलोजिस्ट डा. मोतीकुमार श्रेष्ठ, जनरल फिजिसियन डा. प्रभेश गौतम र डा. सार्थक पौडेल, नर्स मनिषा पोखरेल र अञ्जिता नेपाली, प्यारामेडिक दिलीप कुँवर र सुरज खड्का, फार्मासिस्ट लालमणि आचार्य र समल नकर्कोटी रहेका थिए।
शिविरको समन्वय मनोज गुरुङले गरेका थिए भने नेतृत्व मुटु फाउन्डेसन नेपालका अध्यक्ष धनबहादुर गुरुङले गरेका थिए। शिविरमा फ्रेन्च स्वयंसेवीहरू माए बेगुइन, थिओ पेलेन, जेड लेप्लुस, क्लेमेंट कोभ्टियर, मेलिन लुटिन र एलेना जुडको समेत सक्रिय भूमिका रहेको थियो।