एजेन्सी । अमेरिकाको कोलोराडो राज्यस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानमा शनिबार दिउँसो आगलागी भएको छ ।
मियामीतर्फ उडान गर्न लागेको विमानको ल्यान्डिङ गियरमा समस्या देखिएपछि टेकअफ रोक्ने क्रममा पछिल्लो भागमा अचानक आगो लागेको हो । स्थानीय समयअनुसार दिउँसो २:४५ बजे दुर्घटना भएको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानमा १७३ जना यात्रु र ६ जना क्रु सदस्य सवार थिए । आपतकालीन स्लाइडको प्रयोग गरी सबै यात्रुहरूलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ ।
घटनामा ६ जना यात्रु सामान्य घाइते भएका छन् भने एक जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
अमेरिकन एयरलाइन्सले दिएको जानकारी अनुसार टायरमा खराबी देखिएपछि विमानलाई तत्काल सेवा बाहिर राखिएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र मियामीका लागि यात्रा गर्नुपर्ने यात्रुहरूका लागि वैकल्पिक विमानको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
उक्त घटनाका कारण दिउँसो २ बजेदेखि ३ बजेसम्म डेनभर विमानस्थलका ८७ उडान प्रभावित भएका छन् ।