काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने दाबी असत्य भएको स्पष्ट पारेका छन् ।
आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मर्मतका लागि अस्थायी रूपमा विद्युत् आपूर्ति रोकिएको बताए । “लोडसेडिङ होइन, सबस्टेशन स्तरोन्नति तथा कन्डक्टर फेर्ने कार्यका लागि विद्युत् रोकिएको हो,” शाक्यले भने ।
उनका अनुसार चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भइरहेको छ । पुरानो कन्डक्टरले लोड थेग्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर जडान गरी क्षमतावृद्धि गर्न लागिएको हो ।
शाक्यले स्पष्ट पारे, “विद्युत् क्षमतावृद्धिसँगै पुरानो नेटवर्कले लोड धान्न नसकेकाले समस्या देखिएको हो, यसलाई लोडसेडिङ भनेर गलत रूपमा प्रचार गरिएको छ ।”
डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवादबारे प्रष्टोक्ति
त्यस्तै शाक्यले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरवलोकन समितिको म्याद ३५ दिन थपिएको जानकारी पनि दिए ।
उनका अनुसार समितिले निर्णय गरेपछि बक्यौता उठाउने प्रक्रिया सुरु हुनेछ । “यदि तोकिएको समयमा बक्यौता तिर्इएन भने सम्बन्धित लाइन काटिनेछ,” उनले चेतावनी दिए ।
डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् सेवा लिएका विभिन्न उपभोक्ताबाट २४ अर्ब रुपैयाँभन्दा बढीको बक्यौता उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले मर्मत, स्तरोन्नति र बक्यौता व्यवस्थापनलाई तीव्रता दिइरहेको बताउँदै यस्ता विषयमा भ्रामक जानकारी नफैलाउन आग्रह गरेको छ ।