काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड रुपैयाँभन्दा बढी फिर्ता भएको छ ।
भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि १० करोड ५४ लाख ३० हजार १७० रुपैयाँ फिर्ता भएको हो । महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार सङ्घीय सरकारले २५ करोड रुपैयाँ निकासा गरेकोमा १७ करोड ६५ लाख ६९ हजार आठ सय ३० मात्रै खर्च भएको छ । बाँकी सात करोड ३४ लाख ३० हजार एक सय ७० फिर्ता भएको हो ।
यस्तै, बागमती प्रदेश सरकारबाट निकासा भएको १० करोडमध्ये ६ करोड ८० लाख मात्रै खर्च भएको छ । यसमा ३ करोड २० रुपैयाँ फिर्ता भएको हो । रङ्गशाला निर्माणका लागि बागमती प्रदेश सरकारको ७० प्रतिशत र ३० प्रतिशत भरतपुर महानगरपालिकाले बेहोर्ने सम्झौता छ । सङ्घीय सरकारले महानगरपालिकाको तर्फबाट गरिने खर्चमा रकम दिएको थियो ।
महानगरले रङ्गशालाका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमसमेत फ्रिज भएको छ । निर्माण कम्पनीले असार मसान्तसम्म ४० प्रतिशत प्रगति गर्नुपर्नेमा आर्थिक प्रगति २ दशमलव ४९ प्रतिशत मात्रै भएको आचार्यले जानकारी दिए । उनले भने, ‘हालसम्म भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । तर, समयमा काम नभ्याएकाले आर्थिक प्रगति कम हुँदा बजेट फिर्ता भयो ।’
हिमालयन–कालिञ्चोक–बिबिआर ज्वाइन्टभेञ्चरले २३ असार २०८१ मा ७८ करोड ५० लाख ९१ हजारमा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार २२ पुस २०८३ भित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।
हालसम्म रङ्शालामा पाँच हजार दर्शक क्षमताको प्याराफिटको ढलान सम्पन्न भएको छ । अर्काे दुई हजार दर्शक क्षमताको प्याराफिटको काम भइरहेको छ । दुईवटा टावरमध्ये एउटाको भुइँतलाको ढलान र अर्काेको भुइँको काम भइरहेको छ । यसैगरी, दुई सय मिटर नालीको ढक्कन राख्ने, एक सय ५५ मिटर कम्पाउण्ड निर्माण सम्पन्न भई पाँच सय किलोवाट क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।