-जनक श्रेष्ठ-
लमजुङ । लमजुङ बेसिशहर नगरपालिका ८ मा रहेको जिल्ला खेलकुद विकास समिति लमजुङद्धारा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई सम्मान गरेको छ । आज बेसिशहर नगरपालिका वडा नं. ८ स्थित सो समितिको कार्यालयमा समितिद्धारा आयोजित भण्डारीको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सो समितिले आयोजना गर्दै उहाँलाई सम्मान गरेको हो ।
खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले दौसल्ला ओढाएर सम्मान पत्रले महिला फुटबल टोलीको कप्तान भण्डारीलाई सम्मान गरे । लमजुङे चेली राष्ट्रिय टीमदेखि अन्तराष्ट्रिय टिमबाट फुटबल खेल्ने भएको र उत्कृष्ट खेल्ने भएकाले उहाँको थप हौसल्ला बढाउँदै अझै राम्रो प्रदर्शन गर्न समितिले सम्मान गरेको समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।
उनले भण्डारीले खेलकुदको माध्यमबाट जिल्ला र देशलाई नै चिनाउने काम गरेको भन्दै उहाँको योगदानको प्रंशसा गरे । भण्डारी महिला फुटबल खेलाडी, फुटबल प्रेमीहरु र महिलाहरुको लागि प्रेरणको श्रोत रहेको र उहाँ जस्तै जिल्लाबाट अन्य खेलाडी उत्पादन गर्न समिति लागि पर्ने समितिका अध्यक्ष श्रेष्ठले बताए ।
त्यस्तै, सम्मानित हुन भएका भण्डारीले आफ्नो योगदानको कदर गरेर खेलकुद समितिबाट सम्मानित हुँदा खुसी लागेको बताइन् । आगामी दिनमा पनि आफूले सक्दो खेल प्रर्दशन गर्दै जिल्ला र देशको नाम राख्ने उनको भनाइ छ । गण्डकी प्रदेश खेलाडी उत्पादन गर्ने क्षेत्र रहेको बताउँदै भण्डारीले लमजुङबाट पनि विभिन्न विधाका खेलाडी राष्ट्रिय खेलाडी बनाउन खेल्ने अवसरको सिर्जना गर्नुपर्ने बताइन् ।
उनले यही प्रदेशबाट खेलाडी लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरिन् । मस्र्याङ्दी गाउँपालिका–९ पामचोकको भण्डारी केहीदिन अघिदेखि घरमै व्यस्त छिन् । छरछिमेकीदेखि साथीभाई, विभिन्न समूह विद्यालयले स्वागत सम्मान गरिरहेको छ ।
भण्डारीले आगामी दुई सिजनका लागि न्यूजील्याण्डस्थित वेलिङटन फोनिक्ससँग सम्झौता गर्दै अस्टेलियामाको निन्जा ए लिग खेल्ने भएकी छन् ।
यसअघि उनी युरोपको फ्रेण्च क्लब एन अभेन्ट गुइनगाम्पमा आबद्ध हुँदै जिल्ला र नेपालकै नाम राख्न सफल भइन् । गोल गर्ने उत्कृष्ट कला, सेलिब्रेसन गर्ने शैली अनि हेअर स्टाइलले गर्दा पनि साम्बा नामले समेत परिचित भण्डारी अरू फुटबलरभन्दा फरक छिन् । भण्डारी एपिएफ (सशस्त्र प्रहरी बल) मा समेत आवद्ध छिन् ।