इटहरी । नेपाल–भारत खुला सीमाको ६१.९ किलोमिटर लम्बाईमा फैलिएको सुनसरी जिल्ला अहिले सुरक्षा सतर्कताको केन्द्रबिन्दु बनेको छ। चोरी पैठारी, तस्करी र आपराधिक गतिविधिहरू नियन्त्रण गर्न सरकारी निकायहरूले २४ घन्टा नै निगरानी व्यवस्था कडाइ गरेका छन्।
जिल्ला सुरक्षा समितिको बैठकपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा निगरानी प्रणालीलाई थप सशक्त बनाइएको हो। तस्करी नियन्त्रणका लागि १३ वटा प्रहरी युनिट र सशस्त्र प्रहरीको ११ वटा युनिट परिचालनमा छन्।
भारतसँगको खुला सीमा भएकाले सीमाबाट अवैध रूपले भन्सार छली गरेका सामानहरू नेपाल भित्रिने क्रम रोक्न कठिन भइरहेको छ।
यस्तै कार्यमा संलग्न तस्करहरू र तिनीहरूसँग मिलेमतो गर्ने सुरक्षाकर्मीहरूलाई समेत कारबाही गर्ने चेतावनी दिइएको छ। “भन्सार चोरी निकासी र आपराधिक गतिविधिमा शून्य सहनशीलताको नीति अवलम्बन गरेका छौं,” प्रजिअ मिश्रले भने।
सीमा क्षेत्रको अनुगमनमा स्वयं प्रजिअ मिश्र, प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिना, सशस्त्र प्रहरी प्रमुख एसपी निर्मलकुमार थापा, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख विमल घिमिरेसहितको टोली संलग्न छ।