काठमाडौं । पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’ मा विभिन्न गन्तव्य मुलुक जाने नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। यही सन्दर्भमा देखिएको अव्यवस्था, ठगी, र नियमनको खाँचोलाई सम्बोधन गर्न सरकारले अल्पकालीनदेखि दीर्घकालीनसम्मका सुधार योजनाहरू अघि सारेको छ।
सरकारले अध्यागमन प्रणाली सुधारका लागि हालै रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशक र नरहरि अर्याललाई विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा नियुक्त गरेको छ। तिवारीले विभागलाई केवल आगमन र प्रस्थानको अभिलेख राख्ने निकायमा सीमित नराखी, राष्ट्रिय सुरक्षा र सुरक्षित आप्रवासनको नीतिगत सल्लाह दिने विशेषज्ञ निकायको रूपमा विकास गर्ने घोषणा गरेका छन्।
भिजिट भिसा प्रक्रियामा व्यापक सुधारको तयारी
महानिर्देशक तिवारीका अनुसार अध्यागमनसम्बन्धी ऐन, नियम र कार्यविधि अन्तर्राष्ट्रिय अभ्यासअनुकूल परिमार्जन, डिजिटल प्रणालीमार्फत सेवा प्रवाह, र राहदानी, वैदेशिक रोजगार, कन्सुलर सेवा तथा सुरक्षा निकायसँगको एकीकृत डाटाबेस प्रणालीको निर्माण प्रमुख लक्ष्य हो।
उनले भने, ‘वृहत, एकीकृत र दूरगामी सोच’ बिना भिजिट भिसासम्बन्धी समस्या समाधान सम्भव छैन। ‘कडाइको असफल भाष्य’ को सट्टा सहजीकरण, नियमन र संरक्षणको मार्गचित्र अवलम्बन गर्नु समयको आवश्यकता हो।
तथ्यांक के भन्छ?
सन् २०२४ मा दुई लाख ७१ हजार ३०५ नेपालीले भिजिट भिसामा विभिन्न मुलुक यात्रा गरेका थिए, जुन संख्या अघिल्लो वर्षको तुलनामा झन्डै ७० हजारले बढी हो। सन् २०२५ को जुलाई महिनासम्ममा मात्रै १ लाख ३४ हजार ८२५ जनाले यात्रा गरिसकेका छन्।
मुख्य गन्तव्य मुलुकहरूमा युएई, थाईल्याण्ड, ओमान, कतार र मलेसिया रहेका छन्।
महिलाको संख्यामा उल्लेखनीय वृद्धि
भिजिट भिसामा विदेशिने महिला यात्रुको संख्या सन् २०२१ मा १४.४ प्रतिशतबाट सन् २०२४ मा ४२.१ प्रतिशत पुगेको छ। युएई, ओमान, र कुवेत जस्ता मुलुकमा पुरुषभन्दा महिला यात्रुको संख्या बढी देखिएको छ।
दलालको पासोमा सर्वसाधारण
श्रम स्वीकृति प्रक्रियाको झन्झट, लागत, ढिलासुस्ती र सरकारी प्रतिबन्धको चक्रबाट बच्न नागरिकहरू दलालको सेटिङमा भिजिट भिसामा विदेश जान थालेका छन्। यस्ता यात्रुहरू अध्यागमनसम्म आइपुग्दा आधा दर्जन तहमा ठगिने गरेको पाइएको छ।