एजेन्सी । मंगलबार दिउँसो उत्तराखण्ड राज्यको खीरगंगा नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परेर चार जनाको ज्यान गएको छ भने १० जना सैनिकसहित करिब १०० जना बेपत्ता भएका छन्।
दिउँसो करिब १:३० बजेतिर आएको आकस्मिक बाढीले उत्तराखण्डको धराली बजार क्षेत्रमा रहेका घर, होटल, मन्दिर र ती क्षेत्रमा उपस्थित सर्वसाधारण तथा पर्यटकहरू बगाएको हो।
हिन्दुस्तान टाइम्सका अनुसार, बेपत्ता हुनेहरूमध्ये १० जना भारतीय सशस्त्र बलका जवान छन्, जो बाढी आउँदा हर्सिल क्षेत्रको तल्लो भागमा रहेको शिविरमा बसेका थिए। बाँकी बेपत्तामध्ये स्थानीय बासिन्दा र पर्यटक पनि रहेको प्रारम्भिक अनुमान गरिएको छ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उद्धार कार्य अविरल भइरहेको जनाएका छन्। उनले बाढीबाट हालसम्म ८० जनाको उद्धार गरिएको बताएका छन्। तर अविरल वर्षा र साँझ परिसकेको कारण उद्धार कार्यमा कठिनाइ भोगिएको उनको भनाइ छ।
सैन्य टोली, एनडीआरएफ र स्थानीय प्रशासन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यमा खटिएको छ। बाढीको थप जोखिमका कारण स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम पनि तीव्र पारिएको छ।
सुरक्षाकर्मीहरूले बाढी प्रभावित क्षेत्रमा जनताको पहुँच बन्द गर्न आग्रह गरेका छन्। थप विवरण आउन बाँकी छ।