लमजुङ । लमजुङ बेसिशहर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि विकास, प्रशासनिक र योजना सम्बन्धी कार्यहरू व्यवस्थित र समयमै सम्पन्न गर्न स्पष्ट समयसीमा तोकेको छ ।
नगर कार्यपालिकाको पहिलो बैठकले असोज मसान्तसम्म उपभोक्ता समिति गठन गर्ने, मंसिर १५ भित्र योजनाको सम्झौता गर्ने र बैशाख मसान्तसम्म सबै योजना सम्पन्न गर्ने निर्णय गरेको छ । यसैगरी चालु वर्षको वार्षिक समीक्षा गोष्ठी यही साउन २९ र ३० गते आयोजना गरिनेछ ।
बैठकले कर्मचारीहरूको कार्यविवरण, कार्यसम्पादन सम्झौता कार्य तथा शाखागत÷क्षेत्रगत कार्ययोजना पनि साउन महिनाभित्र तयार पार्ने निर्णय गरेको छ । ठेक्का बन्दोबस्तीका आयोजना सम्बन्धी सूचना असोज १५ भित्र सार्वजनिक गरिसक्ने योजना छ ।
खरिद प्रक्रिया पारदर्शी र समयमा सम्पन्न गर्न खरिद योजना भदौ मसान्तसम्म तयार गर्ने तथा परामर्श सेवा पहिचान र लागत अनुमान भदौ महिनाभित्र सम्पन्न गर्ने निर्णय पनि भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले यी सबै कार्यहरू निर्धारित समयमै सम्पन्न गरिने बताए । उपप्रमुख पद्मा गुरुङले यसले सेवा प्रवाहलाई प्रभावकारी बनाउने र विकास निर्माणमा गति ल्याउने अपेक्षा व्यक्त गरिन् ।
गत आर्थिक वर्ष २०८१/०८२ मा बेसिशहर नगरपालिकाले ८३.०९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो । आर्थिक योजना शाखा प्रमुख सिर्जना पौडेलका अनुसार चालु खर्चमा ८२.६१ र पुँजीगत खर्चमा ८४.०९ प्रतिशत गरी कुल ८३.०९ प्रतिशत बजेट खर्च भएको थियो।
नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले आगामी दिनमा पनि पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्यान्वयन मार्फत विकास निर्माण र सेवा प्रवाहलाई अझ सशक्त बनाउन समयसीमा तोकेर काम अघि बढाइने जानकारी दिए ।