काठमाडौं । लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार शनिबार दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको हो ।
दोर्दी गाउँपालिका–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–६ का २५ वर्षीय विकास विष्ट घाइते भएका छन् ।
घाइतेहरूको बेसिशहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ । सो क्याम्पमा करिब ४० जना कामदार बस्दै आएकामा पहिरो आएपछि भाग्ने क्रममा चार जना पहिरोमा परेका हुन् । अन्य ३६ जना भने सकुसल रहेको प्रहरीले जनाएको छ ।