काठमाडौं । नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व गाईजात्रा आज (आइतबार) काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमसहित धुमधामका साथ मनाइँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने यो पर्व आज विशेष उत्साहका साथ सुरु भएको हो।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा गाईजस्तो सिँगारिएका बालबालिकालाई नगर परिक्रमा गराउने परम्परा यस पर्वमा पालना गरिन्छ। यसले मृतक आत्माप्रति श्रद्धाञ्जलि अर्पण गर्ने र जीवन–मृत्युको चक्रप्रति चेतना जगाउने उद्देश्य राख्छ।
गाईजात्रामा हास्यव्यंग्य प्रस्तुति, सांगीतिक झाँकी, नृत्यलगायतका सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। यस अवसरमा बाग्मती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बिदाका कारण बाग्मती प्रदेश सरकार मातहतका सार्वजनिक कार्यालय, संघसंस्था तथा शैक्षिक संस्था आज बन्द रहेका छन्।