काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा यो नाफा ३७.३२ प्रतिशतले घटेको प्राधिकरणले जनाएको छ।
आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। कुलमान घिसिङको बर्खास्तीपछि नाफामा ओरालो लागेको विश्लेषकहरूको दाबी छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, जापानी येनको अधिमूल्यन, प्रशासनिक खर्चमा वृद्धि र औसत विद्युत विक्री मूल्यमा कमी हुँदा नाफामा गिरावट आएको हो। उनले आगामी वर्षमा नाफा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।
२०७८/८२ मा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड र कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड पुगेको छ। यस अवधिमा राष्ट्रिय विद्युत प्रणालीमा जडित कुल क्षमता ३५९१ मेगावाट पुगेको छ।
प्रणालीमा उपलब्ध १५ हजार ६४१ गिगावाट घण्टामध्ये प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत, स्वतन्त्र विद्युत उत्पादकहरूको ५५ प्रतिशत र भारतबाट आयातित विद्युत ११ प्रतिशत रहेको छ।
देशको आन्तरिक विद्युत खपत १०.७ प्रतिशतले बढ्दै ११ हजार ३१९ मेगावट घण्टामा पुगेको छ। विद्युत चुहावट ०.४७ प्रतिशतले घटेको र राष्ट्रिय ग्रिड पहुँच करिब ९८ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ।
उक्त आर्थिक वर्षमा ४३४ मेगावाट नयाँ उत्पादन क्षमता थपिएको छ। जसमा सहायक कम्पनीहरूको १५३.५ मेगावाट र स्वतन्त्र उत्पादकहरूको २९०.५ मेगावाट योगदान रहेको छ। प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको पनि विवरणमा उल्लेख गरिएको छ।