काठमाडौँ । रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका छन्। रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ईपीएस कोरिया शाखाले साउन २६ देखि ३१ गतेसम्म आवेदन आह्वान गरेको थियो।
यस वर्षको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुने अपेक्षा गरिएको छ। उत्तीर्णमध्ये उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना छनोट हुनेछन्। तर आवेदन दिनेले कुन क्षेत्र रोज्ने भन्ने विवरण बाँकी रहेको छ।
नेपाल र कोरियाबीचको समझदारी पत्रअनुसार योग्य उम्मेदवार छनोट गर्न प्रथम चरणमा भाषा परीक्षा सञ्चालन गरिन्छ। परीक्षा एक दिनमा अधिकतम पाँच सिफ्टमा सञ्चालन हुनेछ। परीक्षा तालिका आवेदन संख्या र अन्य कारणअनुसार फेरबदल हुन सक्ने ईपीएस शाखाले जनाएको छ।
भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सिप तथा प्रतिस्पर्धा क्षमता परीक्षणमा पनि उत्तीर्ण भएपछि मात्र रोजगार आवेदन फारम भर्न सक्नेछन्। दोस्रो चरणको परीक्षा सम्बन्धी जानकारी प्रथम चरणको नतिजा प्रकाशनपछि सार्वजनिक गरिनेछ।
भाषा परीक्षाका सबै केन्द्र काठमाडौँमै हुनेछ। परीक्षा नतिजा एचआरडी सर्भिस अफ कोरियाबाट प्राप्त भएपछि प्रकाशन गरिनेछ र परीक्षार्थीले अनलाइनबाट आफ्नो नतिजा हेर्न सक्नेछन्। नतिजाको वैधता प्रकाशन मितिदेखि २ वर्षसम्म मात्र रहनेछ।
परीक्षामा पढाई सम्बन्धी २० र सुनाइ सम्बन्धी २० गरी कुल ४० प्रश्न हुनेछ। प्रत्येक भाग २५ मिनेटमा सम्पन्न हुनेछ र परीक्षा निरन्तर ५० मिनेटमा सञ्चालन हुनेछ। परीक्षा सहभागीले राहदानी र प्रवेश पत्र अनिवार्य लिएर जानुपर्नेछ।
ईपीएस शाखाले नक्कल गर्ने वा गराउने कार्य गरेमा चार वर्षसम्म पुनः परीक्षा दिन प्रतिबन्ध हुने चेतावनी पनि दिएको छ।