काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ। सोमबार मेलबर्न स्टार्ससँगको खेलमा नेपाल ३१ रनले पराजित भएको हो।
टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो। ओपनर आशिफ शेखले ५३ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहितकुमार पौडेलले ३३, कुशल भुर्तेलले २५ र कुशल मल्लले ११ रन बनाए।
मेलबर्न स्टार्सले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। ब्लाक म्याकडोनाल्डले ७४ र थोमस रोजर्सले ६५ रन बनाए। नेपालका सन्दीप लामिछानेले ३, सोमपाल कामीले २ र शहबाज आलमले १ विकेट लिए।
नेपाल यसअघि एनटी स्ट्राइक्स र बंगलादेश ए टिमसँग पराजित भइसकेको छ। नेपालले मंगलबार होबर्ट हुरिक्यान्स, बुधबार मेलबर्न रेनेगेड्स र आगामी शुक्रबार पाकिस्तान ए टिमसँग खेल्ने तालिका रहेको छ।
प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेश ए टिम, साथै शिकागो किंग्समेन, होबर्ट हुरिक्यान्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स र एसिटी कमेट्स सहभागी छन्। शीर्ष चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्।