काठमाडौं । सोमपाल कामीको शानदार बलिङमा नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टि–२० सिरिजमा मेलबर्न रेनेगेड्सलाई ३३ रनले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ।
बुधबार डार्विनस्थित काजालिस एरिना पामर्स्टनमा भएको खेलमा नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमै १०६ रनमै अलआउट भयो।
मेलबर्नका अर्जुन नैर २६ रन बनाए भने जय लेमिरे १८ र ह्यारी डिक्सनले १६ रन जोडे। तर सोमपाल कामीको घातक बलिङ सामु मेलबर्नको पारी धरासायी बन्यो। उनले ४ ओभरमा १७ रन दिँदै ५ विकेट लिए। यस्तै, कुशल भुर्तेलले २ विकेट झारे भने रुपेश सिंह र साहब आलमले समान १-१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो। कुशल मल्लले सर्वाधिक २९ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले २७ रन जोडे। लोकेश बमले २४, भीम सार्कीले १७ र रुपेश सिंहले नटआउट १६ रनको योगदान दिए।
सिरिजमा लगातार दोस्रो जितसँगै नेपाल आत्मविश्वासमा रहेको छ। अब नेपालले शुक्रबार पाकिस्तान शाहीन्सविरुद्ध अन्तिम खेल खेल्नेछ।