काठमाडौं । भारत भ्रमणमा रहेका चीनियाँ विदेश मन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालको सहअध्यक्षतामा मंगलबार बसेको बैठकले दुई देशबीचको व्यापार लिपुलेक पासमार्फत पुनः सञ्चालन गर्ने सहमति गरेको छ।
बैठकले लिपुलेक, शिप्की ला र नाथु ला पासमार्फत सीमापार व्यापार सुरु गर्ने निर्णय गरेको बताइएको छ। लिपुलेक क्षेत्र नेपालले आफ्नो भूभागको रूपमा दाबी गर्दै आएको क्षेत्र हो। २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा लिपुलेक र लिम्पियाधुरासहितको औपचारिक नक्सा सार्वजनिक गरिएको थियो। तर भारतले उक्त क्षेत्र आफ्नो भनी नियन्त्रण गर्दै आएको छ।
नेपालले पटक-पटक कूटनीतिक माध्यमबाट वार्ता प्रयास गरे पनि भारतले त्यसलाई बेवास्ता गरेको भनिएको छ। विवादित भूभागलाई नै प्रयोग गर्दै चीन र भारतले व्यापार सञ्चालन गर्ने सहमति गरेका हुन्। यसअघि १० वर्षअघि पनि लिपुलेक पासमार्फत व्यापार गर्ने प्रयास हुँदा नेपालमा व्यापक विरोध भएको थियो।
यो कदमले विवादित सीमामा व्यापारिक गतिविधि सुरु भए पनि भू-राजनीतिक संवेदनशीलता कायम रहने अनुमान छ।