काठमाडौं । पछिल्ला केही दिनयता नेपाल टेलिकमका ग्राहकलाई विभिन्न अलर्ट आईडी मार्फत शंकास्पद सन्देश पठाई कनेक्ट आईपीएस खाता लक भएको भन्दै भिन्न–भिन्न URL लिंक खोल्न लगाएर ठगी गर्ने गतिविधि बढेको पाइएको छ।
ग्राहकलाई पठाइएको सन्देशमा “Dear valued customer, your Connect IPS account has been locked. Please verify (different url addresses) to login and secure it” भन्ने व्यहोरा उल्लेख गरिएको छ। त्यसपछि ग्राहकलाई सो लिंकमार्फत कनेक्ट आईपीएस को युजरनेम र पासवर्ड प्रविष्ट गर्न लगाई आर्थिक ठगी गर्ने प्रयास भएको तथ्य सार्वजनिक भएको हो।
नेपाल टेलिकमले ग्राहकलाई यस्ता फिशिङ लिंक नखोल्न, व्यक्तिगत जानकारी, युजरनेम वा पासवर्ड प्रविष्ट नगर्न आग्रह गरेको छ। साथै कम्पनीका सेवाबारे आधिकारिक जानकारी लिनका लागि टेलिकमको ब्लु टिकसहितको आधिकारिक फेसबुक र एक्स (Twitter) पेज तथा कम्पनीको आधिकारिक वेबसाइट लाई मात्र भर पर्न अनुरोध गरिएको छ।
यसरी शंकास्पद लिंकमार्फत ठगी गर्ने प्रयास रोक्न साइबर सुरक्षा सचेतना बढाउनुपर्ने र सेवाग्राहीले कुनै पनि अनधिकृत URL वा SMS मा प्रतिक्रिया नगर्नुपर्ने नेपाल टेलिकमले स्पष्ट पारेको छ।