काठमाडौं । अमेरिकाको एक संघीय अपिल अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई ठूलो राहत दिने निर्णय गरेको छ। यस फैसलासँगै नेपाल र मध्य अमेरिकाका करिब ६० हजार आप्रवासीलाई दिइँदै आएको अस्थायी संरक्षित स्थिति (TPS) अन्त्य गर्ने बाटो खुलेको छ।
यसअघि तल्लो अदालतले आप्रवासीको पक्षमा आदेश दिँदै सुरक्षा स्थिति कायम राख्न भनेको थियो। तर नवौँ सर्किट कोर्ट अफ अपिल्सले सो आदेश उल्ट्याउँदै ट्रम्प प्रशासनलाई आप्रवासीलाई घर फर्काउने बाटो सहज बनाइदिएको हो।
यस फैसलाबाट नेपालका करिब सात हजार आप्रवासी प्रत्यक्ष प्रभावित हुने देखिएको छ। उनीहरूको TPS म्याद यसै वर्ष अगस्त ५ मा सकिएको छ। यस्तै, होन्डुरसका ५२ हजार र निकारागुवाका करिब चार हजार नागरिकको सुरक्षा स्थिति आगामी सेप्टेम्बर ८ मा समाप्त हुने तयारी छ।
TPS प्रणाली अमेरिकी कानुनअनुसार युद्ध, प्राकृतिक विपत्ति वा अन्य असुरक्षित परिस्थितिमा रहेका नागरिकलाई अस्थायी रूपमा अमेरिकामा बस्न र काम गर्न अनुमति दिन बनाइएको हो। तर ट्रम्प प्रशासनले दीर्घकालीन रूपमा प्रयोग हुँदै आएको TPS प्रणाली दुरुपयोग भएको दाबी गर्दै यसलाई अन्त्य गर्ने प्रयास गर्दै आएको थियो।
यस कदमको विरोध आप्रवासी अधिकारका पक्षधर समूहहरूले लगातार गर्दै आएका छन्।