काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा नेपालले शुक्रबार पाकिस्तान साहीन्ससँग १ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिर भएको छ।
डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तान साहीन्सले नेपाललाई १ सय ४५ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ४३ रन बनायो।
नेपालका लागि कप्तान रोहित पौडेलले ४४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५२ रनको महत्वपूर्ण योगदान दिए। दीपेन्द्रसिंह ऐरीले ४१, आसिफ शेखले २७ र लोकेश बमले १० रन बनाए।
बलिङतर्फ पाकिस्तान साहीन्सका मोहमद वासिम र फैसल अक्रमले समान दुई–दुई विकेट लिए भने मोहमद सलमानले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको पाकिस्तान साहीन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रनको योगफल तयार पारे। कप्तान इरफान खानले २६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४२ रन बनाए। अब्दुल समाद २६, मोहमद वासिम २३ र यासिर खान १८ रनमा सीमित रहे।
नेपालका लागि सोम्पाल कामीले ३ विकेट लिए भने नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट झारे। कुशल भुर्तेलले १ विकेट आफ्नो नाममा राखे।
यसअघि ५ खेल खेलेको नेपालले ३ खेलमा हार र २ खेलमा जीत हासिल गरेको थियो। नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’सँग ३२ र मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ तथा मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो।
यस हारसँगै नेपालले ६ खेलमा ४ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिनु परेको छ।