काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल भित्रिने रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो आव २०८०/०८१ म १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । सो वर्ष रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनामा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १७ अर्ब ७८ करोड रहेको रेमिट्यान्स भित्रिएको थियो ।
गत वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १४.५ प्रतिशतले बढेको थियो । गत वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो ।
गत वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो ।