काठमाडौं । रौतहट रुबिकुमारी साह हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको शरीरमा विभिन्न ट्याटु भेटिएका छन्। उनका हातमा ‘माइ हर्ट रुबिकुमारी’ लेखिएको ट्याटु छ भने छातीमा रुबिकुमारीको तस्वीरसमेत खोपिएको देखिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार, पासवान बुधबार बिहान माधव नारायण नगरपालिका–६ स्थित नहर किनारमा पेट्रोल हालेर आत्मदाह प्रयास गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। घाइते अवस्थामै उनलाई उद्धार गरी गरुडास्थित बेटर अस्पतालमा भर्ना गरिएको छ।
पासवानले आत्मदाह प्रयास गर्नु अघि भिडियो बनाएर घटना विवरण सुनाएका थिए। भिडियोमा उनले रुबीसँग प्रेम सम्बन्ध मात्रै नभएर उनी उनकी पत्नी समेत भएको दाबी गरेका छन्। उनीहरूले नेपाल र भारत दुवैतिर अदालतमा विवाह गरेको बताए, तर रुबीकी आमाले उनीहरूलाई छुटाएको बताए।
भिडियोमा पासवानले भनेका छन्, “म दोषी हुँ। तर म भाग्दिनँ। जेलमा बस्न सक्दिनँ। म मर्छु। मेरो प्राण त्यहाँ छ।” गत शनिबार राति गौर नगरपालिका–९ मुडवलवा नजिक सुटकेसभित्र रुबिको शव फेला परेको थियो। यसअघि प्रहरीले शवलाई ई–रिक्सामा राखी सडकसम्म पुर्याएको आरोपमा चालक लक्ष्मण महरालाई पनि पक्राउ गरेको थियो।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पासवान नै हत्या प्रकरणको मुख्य आरोपी रहेको पुष्टि गरेको छ र घटनाबारे थप अनुसन्धान जारी छ।