काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियासँगको दोस्रो अभ्यास टी–२० खेलमा ३ रनले पराजित भएको छ। बिहीबार भएको खेलमा नेपालले १६१ रनको लक्ष्य पछ्याउँदा २० ओभरमा १५७ रनमा अलआउट भएको हो।
नेपालका रुपेश सिंहले १९ बलमा ३७ रन र लोकेश बमले २६ बलमा ३२ रन बनाए। नेपाल ८२/६ मा रहेको अवस्थामा यी दुई मिलेर अर्धशतकीय साझेदारी गरे पनि अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा जित दिलाउन सकेनन्। अन्तिम ओभरमा करण केसी स्ट्राइकमा भए पनि क्याच आउट भएका थिए भने शाहब आलम बोल्ड भए।
साउथ अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो। साउथ अस्ट्रेलियाका रायन किङले सर्वाधिक ३९ रन बनाए भने डानियल ड्रिउ र ह्यारी मानेन्तीले समान २९–२९ रन बनाए।
नेपालका करण केसी, शाहब आलम र रुपेश सिंहले क्रमशः २–२ विकेट लिए। कुशल भुर्तेल र करण केसीले समान १–१ विकेट लिए।
पहिलो अभ्यास खेलमा पनि नेपाल ३ विकेटले पराजित भएको थियो। यसअघि मंगलबार नेपालले दुवै अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो।
नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वपूर्ण मानिएको छ। टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टिममध्ये आठौँ स्थानमा रह्यो।