एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी आक्रमणमा किभमा बच्चासहित आठ जनाको मृत्यु भएको बताएका छन्।
युक्रेनका गृहमन्त्री इहोर क्लाइमेन्कोका अनुसार मृत्यु हुनेमा दुई बालबालिका पनि छन्। किभका मेयर भिटाली क्लिट्स्कोले विशाल ड्रोन र मिसाइल आक्रमणमा कम्तिमा ३८ जना घाइते भएको जानकारी दिएका छन्।
जेलेन्स्कीले एक्समा जारी विज्ञप्तिमा भने, ‘रूसले वार्ताको टेबलभन्दा ब्यालिस्टिक क्षेप्यास्त्रहरू रोजेको छ।’ उनले रुसमाथि नयाँ र कडा प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता पनि दोहोर्याएका छन्।
बुधबारको रूसी ड्रोन आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति पुर्याएपछि यो क्षेप्यास्त्र आक्रमण भएको हो। यसका कारण १,००,००० भन्दा बढी युक्रेनी घर बिजुलीविहीन भएका छन्।