काठमाडौं । कप्तान रोहित पौडेलको अविजित शतकको बलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार एकदिवसीय अभ्यास खेलमा साउथ अस्ट्रेलियामाथि शानदार जित दर्ता गरेको छ।
साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमै ८ विकेटको क्षतिमा पूरा गर्यो। कप्तान रोहित पौडेलले अविजित १०१ रन प्रहार गरे भने सोमपाल कामी ४० रनमा अविजित रहे। दुवैले सातौं विकेटका लागि १६१ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जित दिलाए।
यसअघि पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमै सबै विकेट गुमाएर २४२ रन बनाएको थियो। ह्यारी मानेन्तीले ६३ तथा दुवित हूगानबोजमले ५३ रनको योगदान दिएका थिए।
नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान ३–३ विकेट लिँदा सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १–१ विकेट हात पारे।
यसअघि सम्पन्न टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टोलीमध्ये आठौं स्थानमा सीमित भए पनि अभ्यास टी–२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई पराजित गरेको थियो।