काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य एकैपटक ३ हजार रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको हो।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो। लगातार बढिरहेको सुनको मूल्य आइतबार फेरि नयाँ उच्च विन्दुमा पुगेको हो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ६५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४२५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको र त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको व्यवसायीहरूले बताएका छन्। सुरक्षित लगानीको विकल्पका रूपमा सुनप्रति आकर्षण बढ्दै गएसँगै विश्व बजारमा माग चुलिँदा मूल्य निरन्तर बढिरहेको विश्लेषण गरिएको छ।