काठमाडौं । खाना पकाउने (एलपी) ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको अवस्था सुधार हुन थालेको छ।
उपचारका लागि भारतको मुम्बई लगिएका नेता भण्डारीसँगै रहेका कांग्रेस नेता योग राज कँडेलका अनुसार भण्डारी पछिल्लो समय कुराकानी पनि गर्न थालेका छन्।
कँडेलका अनुसार भण्डारीलाई भेन्टिलेटरबाट निकालिएको छ। उनको ईटी ट्यूब पनि निकालिएको कँडेलले जानकारी दिए।
कल्चर रिपोर्ट मंगलबार साँझसम्म आउने र सो बमोजिम इन्फेक्सनको पूर्ण जानकारीपश्चात एन्टिबायोटिकको मात्राको थपघट हुने जानकारी चिकित्सकले दिएको कँडेलले उल्लेख गरेका छन्।