काठमाडौं । तनहुँ बन्दीपुरलाई पर्यटनको केन्द्र बनाउन बन्दीपुर इन काठमाडौ कार्यक्रम सम्पन्न गरिएको छ। बन्दीपुर भ्रमण वर्ष २०२५ अन्तर्गत ‘बन्दीपुर इन काठमाडौं’ विशेष कार्यक्रमको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए।
क्षेत्रीय होटल संघ तनहुँ, बन्दीपुर बजार इकाइको आयोजना बन्दीपुर गाउँपालिकाको संरक्षण र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा भएको कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी, स्थानीय प्रतिनिधि, समाजसेवीले सहभागिता जनाएका थिए।
कार्यक्रम उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले बन्दीपुर नेपालको सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यको अनुपम धरोहर भएको बताए। बन्दीपुरको परम्परागत बस्ती र ऐतिहासिक स्वरुपलाई जोगाउन सकिए मात्र उक्त स्थानको वास्तविक आकर्षण कायम रहने पौडेलको भनाइ थियो।
बन्दीपुरलाई पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सकिए यसले राष्ट्रिय अर्थतन्त्रलाई समेत बल पुर्याउने मन्त्री पौडेलले बताए। कार्यक्रमका संयोजक आशुतोष प्रधानले बन्दीपुरको पर्यटकीय सम्भावना र भविष्यका रणनीति समेटिएको कार्यपत्र प्रस्तुत गरे। आगामी २० वर्षमा बन्दीपुरमा पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउन पूर्वाधार, दिगो पर्यटन, वातावरण संरक्षण र अन्तर्राष्ट्रिय बजारमा सक्रिय प्रचार–प्रसारलाई जोड दिनुपर्ने उनको धारणा थियो।
कार्यक्रममा बन्दीपुरको विकासमा योगदान पुर्याउने पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठलाई बन्दीपुर टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियालाई बन्दीपुर हेल्थ लाइफटाइम अचिभमेन्ट अवार्ड तथा समाजसेवी एवं शिक्षाविद् चिजकुमार श्रेष्ठलाई बन्दीपुर एजुकेसन लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो।
बन्दीपुर पालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले स्थानीय सरकारको तर्फबाट पुर्वाधार विकासलाई प्राथमिकता दिँदै गाउँपालिकालाई आकर्षक गन्तव्य बनाउन निरन्तर पहल गरिने जानकारी दिए।
क्षेत्रीय होटल संघ तनहुँ, बन्दीपुर बजार इकाइ अध्यक्ष फूलमती थापाले भ्रमण वर्ष २०२५ अन्तर्गत बन्दीपुरले देश–विदेशका पर्यटकलाई स्वागत गर्न तयार रहेको बताइन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले बन्दीपुरलाई पर्यटकीय दृष्टिलेसम्भावनायुक्त क्षेत्रको रुपमा प्रस्तुत गर्दै यसको प्रवर्द्धनका लागि बोर्डले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।