काठमाडौं । जेन जेड पुस्ताको आन्दोलनमा हालसम्म १९ जनाको मृत्यु भएको छ भने तीन सय ४७ जना घाइते भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेजमा दुई र त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि दुई जनाको ज्यान गएको छ।
काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा सयौँ घाइते उपचाररत छन्। सिभिलमा मात्रै एक सय बिरामी भर्ना छन् भने एभरेष्टमा एक सय दुई, ट्रमा सेन्टरमा ५९, काठमाडौं मेडिकल कलेजमा ३७ जना उपचाररत छन्। केहीलाई शल्यक्रिया आवश्यक भएको मन्त्रालयले जनाएको छ।
उपत्यकाबाहिर गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज र दमक अस्पतालमा समेत घाइतेहरूको उपचार भइरहेको छ। मन्त्रालयले आन्दोलन अझै जारी रहेकाले मृत्यु र घाइते हुने संख्यामा फेरबदल हुन सक्ने जनाएको छ।