काठमाडौं । हुन्डी कारोबारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको हो । भारत हिमाञ्चल प्रदेश घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ४९ वर्षीय विजयकुमार गुप्तालाई गत सोमबार पक्राउ गरेको हो।
उनी कुलेश्वरस्थित माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक हुन्। उनीबाट प्रहरीले ५७ लाख नगद र १४ लाख ८० हजार बराबरको चेक बरामद गरेको हो।
उनीमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकूमा पठाएको छ। उनले फलफूल व्यवसाय चलाएर लामो समयदेखि हुन्डी कारोबार गर्दै आएका थिए।
उनलाई प्रहरीले २०७५ साल साउन ७ गते दुई लाख भारतीय रुपैयाँ र ३१ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको थियो। थप अनुसन्धानको लागि उनलाई राजस्व अनुसन्धान विभाग पुल्चोक पठाएको थियो।