काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ । बिदाइ तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन । टाइम्स अफ इजरायलले भने हमासले सार्वजनिक गरेको तस्वीरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको उल्लेख गरेको छ ।
हमासले बन्दी भन्दै सार्वजनिक गरेका ४८ जनामध्ये कतिपयको निधन भएको छ भने कतिपय जीवितै रहेका छन्। कसको मृत्यु भएको हो र को–को जीवित छन् भन्ने चाहिँ खुलेको छैन। नेपालका विपिन अहिलेसम्म जीवितै रहेको आसा गरिएको छ।
सार्वजनिक गरिएको सूचीमा प्रत्येक तस्बिरको क्याप्सन “Ron Arad” राखिएको छ। सन् १९६८ देखि लेबनानमा हराइरहेका इजरायली वायु सेनाका क्याप्टेनको नाममा उक्त क्याप्सन राखिएको हो।
हमासले सार्वजनिक गरेको तस्वीरसँगै लेखिएको छ– ‘नेतान्याहुको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु भइरहेका बेला एउटा बिदाइ तस्बिर।’
त्यसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा भएको नरसंहारकारी युद्ध अन्त्य गर्न हमाससँग सम्झौता गर्न गरेको अस्वीकार तथा इजरायली सेनाप्रमुख एयाल जामिरको नेतृत्वमा भइरहेको स्थल तथा हवाई आक्रमणतर्फ संकेत गरेको अलजजिराको भनाइ छ।