काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ३ महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले मन्त्रालयमा आज आफूले काम तुरुन्त अगाडि बढाउन ३ वटा साना निर्देशन दिएको भन्दै यस्तो चेतावनी दिएका हुन्।
उनले भने,ʻकेही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन्। विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हो। त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरी दिने। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्दा रहेछन्।ʼ