काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले वीर अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा निजी अस्पताल वा क्लिनिकमा गएर बिरामी नहेर्न निर्देशन दिएको छ।
न्याम्सले मंगलबार सार्वजनिक सूचना जारी गर्दै चिकित्सकहरूले अनावश्यक रूपमा बिरामीलाई अन्य अस्पतालमा रिफर नगर्न र अस्पतालमै उपलब्ध सेवा तथा परीक्षण प्रयोग गर्न आग्रह गरेको छ।
न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले ओपीडीमा आएका सबै बिरामीलाई उपचार गर्न, औषधि खरिद गर्दा कुनै विशेष ब्रान्ड तोक्न नलगाउन र बिरामीलाई सहज सुविधा दिनुपर्ने बताएका छन्।
यससँगै अस्पताल प्रशासनले चाहिने सबै औषधि अस्पतालकै फार्मेसीमार्फत उपलब्ध गराइने उल्लेख गर्दै अस्पताल बाहिर औषधि पसल, ल्याब वा इमेजिङ सेन्टर सञ्चालन गर्न नपाइने व्यवस्था कार्यान्वयन गर्न लागेको जनाएको छ।