काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा मङ्गलबार दिउँसो खसेको ठूलो पहिरोका कारण सडक अझै अवरुद्ध भएको छ । बिहीबार दिनभर पहिरो पन्छाउने काम जारी रहे पनि आज बेलुकासम्म सडक खुल्ने सम्भावना नरहेको अधिकारीहरूले बताएका छन् ।
तुइन खोलामा खसेको करिब १५ हजार घनमिटर माटो र ढुंगाले करिब १६० मिटर सडक पुरिएको छ । सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार ठूलो पहाडसहितको पहिरो खसेकाले पन्छाउन बढी समय लागेको हो ।
बुधबार बेलुकादेखि पाँचवटा मेसिन परिचालन गरी लगातार काम भइरहे पनि अझै पूर्णरूपमा सडक सफा हुन सकेको छैन । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले दुई लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर प्रयोग भइरहेको र दमौलीबाट अर्को स्काभेटर मगाइएको जानकारी दिए । उनका अनुसार माथिबाट थप ठूलो पहिरो खस्ने सम्भावना कम भए पनि केही ढुंगापत्तर अझै अड्किएकोले साना तथा मझौला पहिरो खस्न सक्ने जोखिम कायम छ ।
गत शुक्रबारदेखि सो क्षेत्रमा निरन्तर पहिरो खसिरहेको छ । बीचबीचमा सडक खोलिए पनि मङ्गलबार साँझदेखि पूर्णरूपमा अवरुद्ध भएको हो । अहिले ठूलो सङ्ख्यामा मालवाहक सवारीसाधन लाममा परेका छन् भने यात्रुवाहक बसहरू फर्काइएका छन् ।
पछिल्लो पटक सडक अवरुद्ध भएको ३८ घन्टाभन्दा बढी भइसकेको छ । यसअघि पनि सो खण्ड लगातार ४५ घन्टा बन्द भएर मात्र खुलेको थियो । सडक विस्तारका क्रममा पहाड कमजोर बनेका कारण तुइन खोलाको क्षेत्रमा पहिरो खस्ने जोखिम उच्च रहेको अधिकारीहरूले बताएका छन् ।
सडक बन्द हुँदा पोखरा–काठमाडौँ खण्डमा समेत प्रभाव परेको छ । मुग्लिनखण्डमार्ग अवरुद्ध भएपछि सवारीसाधन पोखरा हुँदै पश्चिमतर्फ जाने गरेका कारण पृथ्वीराजमार्गमा अस्वाभाविक रूपमा चाप बढेको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष ऐनकुमार साईका अनुसार नियमित करिब ४०० वटा यात्रुवाहक बस सञ्चालित भए पनि चाडपर्व नजिकिँदै गर्दा यात्रुलाई समयमा गन्तव्यमा पु¥याउन कठिन भइरहेको छ ।
दसैँको भीडभाड सुरु भइसकेको अवस्थामा सडक अवरुद्ध हुँदा यात्रु र सवारी सञ्चालक दुवै मर्कामा परेका छन् । अधिकारीहरूले भने आज बेलुकासम्म पहिरो पन्छाउने काम धेरै अंशमा सक्ने र चाँडै सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको जनाएका छन् ।